Thursday, December 24, 2015

http://kantipur.ekantipur.com/news/2015-12-24/20151224095206.html

चिसोका कारण भूकम्पपीडित बिरामी पर्न थाले

पुस ९, २०७२- भूकम्प प्रभावित बस्तीहरुमा चिसोका बिरामीको संख्या बढ्न थालेको स्थानियले बताएका छन् ।

केहि दिन यता बढेको चिसोले रुघाखोकी, घाँटी दुख्ने, हातगोडा सुनिने, ज्वरो आउने, टाउको दुख्ने, पखला लाग्ने बिरामी बढेको स्थानियबासीको भनाई छ । अस्थायी टहरोमा बस्दा चिसोले भेटेर स्वास्थ्य संस्था जानुभन्दा सर्वसाधरणले घरेलु उपचार गराइरहेको ताङलिचोक–७ की भगवती थापाले बताइन् ।

‘धेरैलाई घरमै ठिक भयो,’ उनले भनिन्, ‘बढी नै बिरामी हुने उपचार गर्न स्वास्थ्य संस्था गए ।’ चिसोको कारण लापु गाविसमा पनि सर्वसाधरण बिरामी परेको त्यहाँबाट फर्किएका साने गुरुङले जानकारी दिए ।

बारपाक, लाप्राक, गुम्दा, सौरपानी, घ्याच्चोक, करौंजा, स्वाँरा उहिया गाविसमा पनि चिसोका कारण बिरामीहरु देखा परेको स्थानियले टेलिफोनमा बताए । ‘चिसोले रुघाखोकी लाग्नु सामान्य भइसक्यो,’ गुम्दाका महेन्द्र गुरुङले भने ।

ग्रामीण भेगमा स्वास्थ्य संस्थामा पनि चिसोका बिरामी बढेका स्वास्थ्यकर्मीहरुको भनाई छ । जिल्ला अस्पतालमा महामारीका रुपमा चिसोको बिरामी नआएको हेल्थ असिस्टेन्ट कृष्ण ढकालले बताए । चिसो अत्याधिक बढेकाले सर्वसाधरणलाई सजक हुन अनुरोध गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए ।

‘चिसो बढी छ । सर्वसाधरण पनि अस्थायी टहरोमा बसेका छन,’ उनले भने, ‘चिसोका बिरामी बढ्न सक्ने सम्भावना बढेको छ ।’ चिसोका कारण हुने भाईरल ज्वरो फैलिए नियन्त्रण गर्न गर्नु पर्ने पूर्व तयारी गरिएको उनले बताए ।

No comments:

Post a Comment