Friday, December 25, 2015

मान्छे आयो, लगेज आएन


विनासकारी भूकम्पपछि मुलुकले गतिलिँदै गर्दा तेल र भारतीय झेलको समस्यामा रुमल्लिन पुगेको नेपाली पर्यटन क्षेत्र फेरि थला परेको छ । एकातिर अभावको राजनीति भित्रको पटकथाले ग्रसीत नेपाली पर्यटन क्षेत्र अन्तर्रा्ट्रिय विमानस्थलको ब्यथाले झन पिरोलिएको छ । सिड्नीबाट काठमाडौ जादै गर्दा मलेसियन विमानले तेल अभावको कारण देखाउँदै क्वालालम्पुरमा एक रात कटाएपछि काठमाडौ पुगियो । तर, लगेज सँगै आएन । तेलको जोहो गर्न मलेसियन विमानले लगेज कटौती गरेको खबरले पोकापन्तेरा भोलिपल्ट आउने जानकारी आयो । गोदाम झै लाग्ने विमानस्थलको लगेज घुम्तीमा एक घन्टाको आँखा दौडाएपछि एक जना भलाद्मी आएर भन्नुभयो, ‘आज जानुहोस् ,सामान लिन भोलि आउनुहोला ।’ भोलिपल्ट आगमन कक्षमा लगेजको चिट देखाउँदै पस्न त पसियो तर लगेज खोज्न मारामार । खाद्य संस्थानको गोदामबाट दसैंमा खसी बोकाको बथाना छाने झै लाग्थ्यो । करिब एक घन्टा पछि छुटेको समान त भेटियो तर पुरा सामान थिएन । लगेजको अगाडिको भागमा राखेको मोबाइल छैन ,एउटा आइप्याड पनि छैन, ब्याग खुल्लै छ । कसलाई भन्ने के भन्ने, उजुरी गर्ने कुनै निकायनै भेटिएनन् । खोज्दा खोज्दै दिन बित्यो । एक दिनपछि आएको समानको कुनै हिसाब किताब थिएन । बरू निस्कने बेलामा चिटको जाँचसँगै ‘के के ल्याउनु भएको छ प्रष्ट भन्नुहोस’ भन्ने आवाज अलि बढी प्रष्ट सुनिन्थ्यो । बल्ल बल्ल डेश्कमा हराएको सामानको सूची बुझाएर भएको समानलाई गाँठो पार्दै घर लागियो। विमानस्थलका एक सज्जनले भने, ‘सामान एक दुइ दिनपछि आउने र राख्ने ठाउँको अभावका कारण गोदामझै भएको छ ।’ तर कठिन परिस्थितिलाई छिचोल्दै नेपाल भ्रमणमा आएका पर्यटकहरुको सवालमा अत्यन्तै संवेदनशिल थियो बिमानस्थलको अवस्था । न सोध्ने निकाय छ । न त जवाफ दिने ब्यबस्थापन नै । अस्ट्रेलियाबाट एनआरएन सम्मेलनका लागि नेपाल पुगेका राजकुमार गोस्वामीले यस्तो बिचल्ली आफूले पहिलो पटक देखेको गुनासो गरे । सामान गोदाममा झै असरल्ल छन्, कसैलाई सोध्यो भने ‘खोज्नुस न त्यतै होला भनेर जवाफ दिन्छन्’। कस्तो विमानस्थल अनि कस्तो ब्यवस्थापन ? कसलाई के भन्ने ? एक्काइसौं सताब्दीको राजनीतिमा बडी ल्याङ्ग्यौजको कुरा गरिरहँदा हाम्रो बिमानस्थलमा भने कौडी ल्यांग्यौजको सिवाय अरु सुविधाको कुरै थिएन । पर्यटनको पहिलो खुटकीलोको रूपमा रहेको अन्तर्रा्ट्रिय बिमानस्थलको प्रारम्भीक रुपले बिचलीत देखिन्थे बिदेशी पर्यटक । चुस्त र दुरुस्त हुनुपर्ने हाम्रो विमानस्थल साँघुरिएर हो कि, कुरुप र अस्तब्यस्त देखिन्थ्यो ।   हामी विकास र विस्तार अनि शान र मानको कुरो गर्दै जाँदा हाम्रो अनुहारको रूपमा रहेको अन्तर्रा्ष्ट्रिय बिमानस्थलको रूपलाई यसरी नै बिगार्दै जाने हो भने कुनै पनि बिदेशी पर्यटकले राम्रो भन्ने छैनन् । हाम्रो ब्यबहार जति मैत्री भएपनि बिदेशीलाई जति सम्मान गरेपनि ढोकाबाट छिर्ने बेलामा तगारो छेक्ने काम गरेको छ बिमानस्थलको ब्यवहारले । राज्य र सम्वन्धित निकायले बेलैमा ध्यान नर्पुयाउने हो भने बिमानस्थलको ब्यबहार र पर्यटकको गुनासाले सीमा नाघ्न सक्छ। त्यसपछि हामीले सगरमाथा र बुद्धको देश भनेर जति चिच्च्याएपनि हुनेवाला केही छैन, चेतनाभया ।  (साभार सेतोपाटी डटकम )   



No comments:

Post a Comment